iner -->

११ हजार भन्दा बडी नेपाली रैथाने  बीउ बैंकमा जोगाएको छ

११ हजार भन्दा बडी नेपाली रैथाने  बीउ बैंकमा जोगाएको छ

सरकारी जमर्कोले ११ हजारभन्दा बढी नेपाली रैथाने बीउ कम्तीमा सय वर्ष जोगिने निश्चित भएको छ । त्यो कसरी भने ललितपुरको खुमलटारमा स्थापना गरिएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक)मा कृषि वैज्ञानिकहरूले गाउँ गाउँबाट संकलन गरेर ल्याएका रैथाने नेपाली बीउ सुरक्षित तवरले जोगाइएको छ । जीन बैंकका अनुसार, कृषि र जैविक विविधताका दृष्टिले नेपाल विश्वको ३१औँ धनी देश हो । यहाँ उपलब्ध अन्न तथा अन्य बालीमध्ये सबैभन्दा बढी विविधता धानमा छ । धानका रैथाने जातिका २ हजार ३ सय भन्दा बढी बीउ छन् । जीन बैंकका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीका अनुसार यी धान त पहिचान गरिएका स्थानीय जात मात्र हुन्, पहिचान हुन बाँकी स्थानीय जात धेरै हुन सक्छन् । भन्छन्, ‘‘हामी स्थानीय जातका बीउमा विश्वमै धनी देशमा पर्छौं । तर सबै नेपाली जातका बीउ पहिचान गरेर सुरक्षित गर्न सकिएको छैन ।’’ जीन बैंकमा कार्यरत अर्की वरिष्ठ वैज्ञानिक दीपासिंह बस्नेतका अनुसार बैंकमा सय वर्षका लागि सुरक्षित धानका २ हजार ३ सय स्थानीय जातमध्ये केही रैथाने धान विश्व बजारमै प्रख्यात हुन सक्ने खालका छन् । जस्तो, तराईमा फल्ने लल्का बासमती र करिया कमोद, मध्य पहाडको जेठो बुढो र लुम्ले–२ अनि हिमाली क्षेत्रमा फल्ने रातो मार्सी अरू देशमा पनि लोकप्रिय हुन सक्छन् । धानका स्थानीय जात धेरै भए पनि खाँचो छ त केवल बजारीकरणको । रैथाने धानमध्ये स्थानीय स्तरमा यी धान सबैका रोजाइ हुन् । चिसो मौसमा फल्ने हिमाली धानको रूपमा चिनिएको रातो मार्सी नेपालको चिनारी नै हुन सक्छ । किनभने यो धान हुम्ला र जुम्लामा मात्र फल्छ । यता अरू जिल्लामा नफल्ने जेठो बुढो पोखराको पामेको मौलिक धान हो । अन्न बाली होस् वा तरकारी र फलफूल यिनको विविधता र विशिष्टता नै नेपाली बीउको विशिष्ट पहिचान हो । तर त्यही बीउ जोगाउन लामो समयसम्म सरकारी स्तरबाट खासै प्रयास भएको थिएन । किसानहरूको बुताले मात्र स्थानीय प्रजाति जोगिएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूको जोडमा रैथाने बीउको संरक्षण र उपयोग गर्न ०६७ मा कृषि मन्त्रालयले स्थापना गरेको हो, जीन बैंक । यो बैंक स्थापनाको उद्देश्य नै खाद्य सुरक्षा, जीवनस्तर तथा आर्थिक समृद्धिको निम्ति सम्पूर्ण कृषि आनुवांशिक स्रोतहरूको संरक्षण तथा उपयोग गर्ने हो । बैंक स्थापनाको पहल गर्ने तत्कालीन कृषि मन्त्री छविलाल विश्वकर्मा भन्छन्, ‘‘नेपाली बीउहरू आउँदो पुस्ताका लागि समेत जोगाइदिनु हाम्रो दायित्व हो ।’’ हुन पनि जीन बैंकको स्थापनाका कारण अब बीउ जोगाउन किसानमा मात्र भर पर्नु पर्दैन । नेपालमा उपलब्ध बीउ अब राज्यकै संयन्त्रले वैज्ञानिक तवरले सुरक्षित गरेको छ । जीन बैंकका चार जना वैज्ञानिक, दुई जना प्रविधिज्ञ र १० जना सहयोगीसहित १६ जनाको टिम रैथाने प्रजाति जोगाउन खटिएको छ । बैंकमा रैथाने बीउको डीएनए परीक्षण गरी त्यसको फिंगर प्रिन्ट पनि राख्ने गरिएको छ, जसले हाम्रो बीउको प्रतिलिपि अधिकार नेपालसँग मात्र सुरक्षित रहने अवस्था सृजना गरेको छ । अहिलेसम्म बैंकमा सुरक्षितमध्ये तीन सय जति स्थानीय बीउको डीएनएको फिंगर प्रिन्ट सुरक्षित बस्नेत भन्छिन् ।