नेपालको संविधान संशोधन गरिन्छ- शेरबहादुर देउवा

नेपालको संविधान संशोधन गरिन्छ- शेरबहादुर देउवा

नेपालको संविधान संशोधन गरिन्छ- शेरबहादुर देउवा

कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अंगीकृत नागरिकका हकमा अन्तरिम संविधानमा भएको प्रावधानबमोजिम संविधान संशोधन हुने बताएका छन्। 
मधेसी दलले अंगीकृत नागरिकलाई संवैधानिक पदमा जान निषेध गरिएको भन्दै संविधानको यो प्रावधान हटाउन माग राख्दै आएका छन् ।
देउवाले भने, 'अन्तरिम संविधानमा भएका धेरै कुरा यो संविधानमा छुटेको छ । सोहीअनुरूप संशोधन गरिन्छ ।'
बुधबार काठमाडौं फर्कन लागेका देउवाले आफू स्वदेश फर्केलगत्तै संविधान संशोधन प्रस्ताव दर्ता गरिने बताए ।
भारतका प्रधानमन्त्री मोदीसँग करिब ३५ मिनेट कुराकानी गरेका देउवाले भेट मुख्यतः दुई विषयमा केन्द्रित रहेका जनाए । उनका अनुसार भूकम्पपछिको पुनर्निर्माण र संविधान संशोधनमा भेट केन्द्रित थियो ।
भूकम्पपछिको पूनर्निर्माणबारेमा जानकारी गराएपछि प्रत्युत्तरमा मोदीले भूकम्पले क्षति पुर्‌याएका संरचनाको पुनर्निर्माणमा भारत सरकारले जस्तोसुकै सहयोग गर्न तयार रहेको आश्वासन दिएको देउवाले जनाए ।
संविधानबारेमा मोदीको जिज्ञासामा आफूले असन्तुष्ट पक्षलाई समेटेर संविधान संशोधन गर्न लागिएको जानकारी गराएका थिए । सबैलाई समेटेमा संविधान कार्यान्वयनमा सहज हुने मोदीलाई उद्धृत गर्दै देउवाले जनाए ।
गोवामा सत्ताधारी भारतीय जनता पार्टी नजिक मानिने इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी भएका देउवासँगै निर्वासित तिब्बती सरकारका प्रधानमन्त्री लोब्साङ साङेलाई आमन्त्रित गरिएपछि विपक्षीका साथै आफ्नै पार्टीका सदस्यबाट पनि आलोचना भएको छ ।
यो प्रसंगमा देउवाले भने, 'गोवाको कार्यक्रममा एउटै मञ्च सेयर गरेको भन्ने कुरा सरासर गलत हो । कुनै तिब्बती नेतासँग मेरो भेट भएको छैन ।'
चीनको अप्रसन्नताको अडकलबाजी भइरहेका बेला देउवाले भने, 'एक चीन नीतिप्रति सरकार तथा कांग्रेस पूर्ण प्रतिबद्ध छ । नेपालमा चीनविरुद्धका गतिविधि हुन दिनु हुँदैन भन्ने मैले राम्ररी बुझेको छु । एक चीन नीतिको विरुद्धमा जाने त्यस्तो कुनै काम भएको छैन ।'
उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोगका सन्दर्भमा प्रक्रियागत रूपमा पार्टीले निर्णय लिने जानकारी गराए ।
गोवामा इन्डिया फाउन्डेसनको कार्यक्रममा सहभागी हुन शुक्रबार पत्नी आरजू देउवासहित आएका देउवालाई जवाहरलाल नेहरू विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।