iner -->

शशांक कोइरालाको अनुसार हिन्दीलाई राष्ट्रिय भाषा मान्न सकिँदैन

शशांक कोइरालाको अनुसार हिन्दीलाई राष्ट्रिय भाषा मान्न सकिँदैन

शशांक कोइरालाको अनुसार हिन्दीलाई राष्ट्रिय भाषा मान्न सकिँदैन

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन नसकिने बताएका छन् । अंगिकृत नागरिकले १० वर्ष पछि प्रमुख संवैधानिक पदमा जान पाउने अधिकारको आफू विपक्षमा रहेको उनले प्रष्ट पारे ।

नेपालगन्जमा बुधबार बिहान प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री कोइरालाले भने, ‘यो बारेमा कांग्रेसले अधिकारीक निर्णय गर्न बाँकी नै छ । तर, मेरो व्यक्तिगत धारणा भने नेपालमा हिन्दी भाषालाई राष्ट्रिय मान्यता र अंगिकृत नागरिकलाई मुलुकको सर्वोच्व पदमा पुराउन हुँदैन भन्ने छ ।’

नेपाली, थारु, अवधी, मैथली, भोजपुरी लागयतका सम्पूर्ण जात जातिले बोल्ने भाषालाई नै कामकाजी भाषा बनाउनुपर्ने तर, हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन नहुने उनले बताए ।

उनले संविधान कार्यान्वयनको लागि पछिल्लो समयमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरुबीच दिनहुँजसो छलफल भएको र उनीहरुबीचमा संविधान संशोधनको विषयमा समेत सहमति जानकारी पनि दिए ।

कोइरालाले भने, ‘तीन दलका नेताहरु दिनहुँजसो एक ठाउँमा बस्नु भएको छ । संविधानको कार्यान्वयनको लागि छलफल भएको छ । तर, मधेसी मोर्चा र अन्य दलका शिर्ष नेताहरुसँग पनि सहमति खोज्न आवश्यक देखिएको छ ।’

कांग्रेस महामन्त्री कोइरालाले संविधान कार्यान्वयनको पहिलो खुड्किलो तीन तहको निर्वाचन निर्धारित समयमै गर्नुपर्ने भएकाले सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन आवश्यक रहेको धारणा राखे ।

धर्मनिरपेक्षताको विषय तीनै तहको निर्वाचनपछि जनमत संग्रहमार्फत टुंगो लगाउनुपर्ने उनले दोहोर्‍याए ।