iner -->

रानी पोखरीभित्रको मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने

रानी पोखरीभित्रको मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने

रानी पोखरीभित्रको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पुरातत्व विभागले गर्ने भएको छ। पुरातत्व विभागले दिएको नमूना डिजाइन अनुसारको काम काठमाडौं महानगरपालिकाले प्राविधिक कारणले गर्न कठिन परेकाले पुनर्निर्माणको जिम्मेवारी पुरातत्व विभागलाई दिने निर्णय भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्तारामप्रसाद थपलियाले जानकारी दिए। उनका अनुसार पुरातत्व विभागकै नमूना अनुसार मन्दिरको पुनर्निर्माण हुनेछ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको कार्य टोली तथा पुरात्व विभागका महानिर्देशक भेषनारायण दाहाल, काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ सहित बसेको बैठकले यस्तो निर्णय गरेको हो। महानगरपालिकाले निर्माण गरेको बालगोपलेश्वर मन्दिरको पुनर्निर्माण मापदण्ड अनुसार नभएको भन्दै पुरातत्व विभागले आपत्ति जनाएपछि केही समयदेखि मन्दिर पुनर्निर्माण प्रक्रिया अवरुद्ध भएको थियो। कात्तिक ३ गतेको निर्णयले रोकिएको कार्य पुनः सुरु हुने भएको हो। बैठकमा भएको सहमति अनुसार रानीपोखरी निर्माणका सम्बन्धमा बालगोपालेश्वर मन्दिर बाहेकका निर्माण गर्नुपर्ने सबै कामको निर्माण कार्य काठमाडौं महानगरपालिकाले यथाशीघ्र कार्यन्वयन गर्ने गराउने पूर्ववतः निर्णयलाई काठमाडौं महानगरपालिकाले प्राथमिकताका साथ कार्यान्वयन गर्नेछ। यस्तै भाइ टिका एवं छठ पर्वका कार्यक्रमहरु सहज बनाउन काठमाडौं महानगरपालिकाले नेतृत्व लिइ आवश्यक व्यवस्थापन गर्ने गराउने निर्णय भएको थपलियाले बताए।