भ्रष्टाचार रोक्ने प्रयास: भारतमा पाँच सय र हजारका नोट रद्द

भ्रष्टाचार रोक्ने प्रयास: भारतमा पाँच सय र हजारका नोट रद्द

भ्रष्टाचार रोक्ने प्रयास: भारतमा पाँच सय र हजारका नोट रद्द

प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार तथा अवैध नोट नियन्त्रणका निम्ति भन्दै एक हजार र पाँच सय मूल्य भारतीय मुद्रा अब नचल्ने भनी निर्णय सुनाएका थिए।
उक्त आश्चर्यजनक घोषणा भ्रष्टाचार तथा अवैध कालो धनमाथिको प्रहार भएको उनले गए राती टेलिभिजनहरुमार्फत बताएका थिए।
गरीबी निवारणको यात्रामा कालो धन र भ्रष्टाचार सबभन्दा ठूलो वाधा भएको उनले बताए।
अब पाँच सय र दुई हजार दरका नयाँ नोटहरु बजारमा ल्याइने बताइएको छ।
ब्यांकहरुलाई हाल सर्वसाधारणका साथमा रहेका पुराना पाँच सय र हजारका नोटहरुलाई आगामी पचास दिन सम्म सटही गरिदिन आदेश दिइएको छ।
तर बुधबार भने ब्यांकहरु सर्वसाधारणका निम्ति बन्द रहनेछन्।
एटिएम मशीनहरु पनि काम गर्ने छैनन्।
भारतीय सरकारका अनुसार आउने केही दिनसम्म एउटा कार्डबाट दुई हजार सम्म मात्र झिक्न मिल्ने सीमा तोकिएको छ।
यी कदमहरु भ्रष्टाचार गरी कमाइएका काला धन तथा कर नतिरिएका अवैध धनलाई बजारबाट बाहिर्याउने लक्ष्यका साथ लिइएको बताइएको छ।
यसको अर्को लक्ष्य आतंकवादको लगानीलाई परास्त गर्नपनि रहेको बताइएको छ।
भारत विश्वकै सातौं ठूलो अर्थतन्त्र हो। तर त्यहाँ एकदमै धेरै नगद कारोबार हुने गर्छ। अधिकांश नगद पाँच सय र एक हजारको दरमा रहने गरेको छ।
यी कदमलाई कुनै पनि भारतीय सरकारले चालेको यस प्रकारको सबभन्दा शक्तिशाली कदम भनिएको छ।
प्रधानमन्त्री मोदीले आकस्मिक रुपमा गए राती राष्ट्रलाई सम्बोधन गरी ती कदम अर्थ्याएका थिए।