iner -->

एकांकी  नाटक ‘थांग्ला’ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन

एकांकी  नाटक ‘थांग्ला’ बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक थांग्लामा पीडाले भरिएको परम्परालाई उजागर गरिएको छ । सरुभक्त लिखित नाटकलाई अनुप बरालले निर्देशन गरेका हुन् । पहिलो पटक मञ्चन भएको नाटकलाई समयानुकूल बनाउन केही परिवर्तन गरिएको छ । थांग्लाको अर्थ हुन्छ, हिमाली देवता । थांग्लामा पेम्बा परिवर्तनका प्रतिविम्ब र प्रकाशलाई धर्म/संस्कृतिको पालनकर्ताका रूपमा चित्रित गरिएको छ । जसको चपेटामा छिन्, लोप्साङ । न उनी आफ्नै छोरा उमेरको देवरलाई पतिका रूपमा अपनाउन सक्छिन्, न अन्तरआत्माबाटै पेम्बालाई माया गर्छिन् । बरू, उनी पितृसत्तात्मक पारिवारिक संरचनाको पीडामा पिल्सन बाध्य छिन् । हिजो ग्याल्पोहरू तिब्बत जान्थे, आज अरब । इच्छा र आकांक्षालाई तिलाञ्जली दिँदै आफ् नो खसमको प्रतीक्षामा आँसु बगाउने लाखौँ पत्नीका प्रतिनिधि पात्र हुन लोप्साङ । पात्रको भेषभूषा, बोलीचाली, पुराना भाँडाकुँडा र गलैँचा, चौँरीगाईका कुरा, हिमाली देवताको प्रतिविम्ब र साजसज्जाले नाटक हेरिरहँदा हिमालमै पुगेको भान हुन्छ । सतहमा देखिने समस्याभन्दा त्यसले व्यक्तिको जीवनमा पारेको जटिलतालाई केलाउनु निर्देशक अनुपको ‘ट्रेडमार्क’ हो । थांग्लामा यही शैलीलाई मार्मिक शैली पछ् याएकाले पौने दुई घन्टा लामो नाटक हेरिरहँदा कतै झिँजो महसुस हुन्न । यद्यपि, कथा उठानमा केही चुस्तता खड्कन्छ । लोप्साङ र पेम्बाको उमेर अन्तर अझ बढी देखाइएको भए नाटक अब्बल बनाउन सकिन्थ्यो । विदेश नगई टुरिस्ट गाइड बनेको छिरिङलाई निर्देशकले आदर्श पात्रका रूपमा चित्रण गर्न खोजेका छन् । ग्याल्पो बनेका प्रकाशको आगमनसँगै नाटकमा रोमाञ्चकता बढ्छ । समाज र मनबीचको उल्झनलाई रोयले मनोवैज्ञानिक रूपमा मञ्चमा उतारेका छन् । पीडाको पहाडले थिचिएकी दिया र तिब्बत जान नसकेर छटपटाएका पुष्कर गुरुङको अभिनय प्रशंसनीय छ । किरणको बालसुलभता उत्तिकै प्यारो छ । नमिता लिम्बू, सूर्यमान लिम्बू, केशव राई, दर्पण पराजुलीलगायतका सहायक कलाकार चरित्रमा फिट छन् । कथामा नयाँपन र प्रस्तुतिमा कलात्मकता खोज्नेले थांग्ला छुटाउनु हुन्न । कहिल्यै हिमाल नपुगेकाले त झन् आनन्द महसुस गर्न सक्छन् । नाटक १७ असोजसम्म मञ्चन हुनेछ |